समाचार
आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक (साउन-कार्तिक) "सार्वजनिक सुनुवाई कार्यक्रम" प्रगति विवरण
अन्नपूर्ण गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भव्यताका साथ सम्पन्न !!
अन्नपूर्ण गाउँपालिका, कास्कीले आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक (साउन-कार्तिक) अवधिमा सम्पन्न गरेका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा "सार्वजनिक सुनुवाई कार्यक्रम" भव्यताका साथ सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजनामा मिति २०८२ साल मंसिर २९ गते सोमबारका दिन गाउँपालिकाको वडा नं. ५ को वडा कार्यालय, झोबंग मा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
कार्यक्रममा सयौंको संख्यामा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो । उपस्थित स्थानीयहरूले गाउँपालिकाका गतिविधिहरूबारे जिज्ञासा राख्नुका साथै विकास निर्माणका कार्यहरूको समीक्षा गरेका थिए ।
कार्यक्रममा निर्वाचित स्थानीय जनप्रतिनिधिहरू, वडा सचिवहरू, र गाउँ कार्यपालिका टिमको सक्रिय सहभागिता थियो ।
प्रस्तुतिहरूका क्रममा सर्वप्रथम वडा नं. ५ का वडा अध्यक्ष ज्यूले शुभकामना मन्तव्य राख्दै सार्वजनिक सुनवाईको महत्त्व र स्थानीय सहभागिताको आवश्यकतामाथि प्रकाश पार्नुभयो । त्यसपछि, गाउँपालिकाको चौमासिक प्रगति विवरण प्रमुख प्रशासकीय अधिकृत ज्यूले पेश गर्नुभयो । उहाँले यस अवधिमा भएका मुख्य प्रगतिहरू बजेट खर्चको अवस्था र सेवा प्रवाहमा देखिएका सुधारहरु बारे विस्तृत तथ्याङ्कीय जानकारी प्रस्तुत गर्नुभएको थियो।
स्थानीयबाट आएका जिज्ञासा र गुनासोहरूको मुख्य जवाफदेहिता गाउँपालिकाका श्रद्धेय अध्यक्ष विष्णु बहादुर के.सी. ज्यूले लिनुभयो । जनजिज्ञासालाई सम्बोधन गर्दै, आगामी दिनमा गाउँपालिकाले लिने योजना तथा सुधारका प्रतिबद्धताहरू पनि अध्यक्षले व्यक्त गर्नुभएको थियो ।
यसैगरी गाउँपालिका अध्यक्षज्यूले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीय बासिन्दा जनप्रतिनिधि र कर्मचारीहरूलाई धन्यवाद दिँदै गाउँपालिकाको कार्यहरूमा थप पारदर्शिता र जवाफदेहिता अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यस सार्वजनिक सुनुवाई कार्यक्रमलाई आमा पब्लिकेसन प्रा.लि., पोखरा ले सहजीकरण गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिका र स्थानीय जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै 'कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार: अन्नपूर्ण समृद्धिको आधार' भन्ने नारालाई सार्थक तुल्याउन मद्दत पुगेको स्थानीयले बताएका छन् ।
